रसुवा बाढीपीडितका लागि जनकपुरका व्यवसायी साहको सराहनीय सहयोग
1 घन्टा पहिले प्रकाशित
मोनु गुप्ता/राष्ट्रिय अवाज
जनकपुर धाम,भाद्र १५ गते
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि जनकपुर धामका व्यवसायी विक्रम साहले करिब ४ लाख रुपैयाँ बराबरको कपडा सहयोग गरेका छन्।जनकपुरधाम उपमहानगरपालिका–२ मा सञ्चालित नुतन क्लोथका सञ्चालक साहले बाढीपीडितका लागि शर्ट , पाइन्ट जिन्स, टी–सर्ट, हुडी लगायतका कपडा सहयोग गरेका हुन्।
सहयोग बारे साहले विपत्तिको समयमा पीडित परिवारको दुःखमा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताए। उनले भने, “प्राकृतिक विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनी लाई आफ्नो क्षमताअनुसार सहयोग गर्न पाउनु हाम्रो कर्तव्य हो। सानो सहयोगले भए पनि पीडित परिवारलाई राहत मिलोस् भन्ने हाम्रो उद्देश्य हो।”
बाढीपीडितका लागि गरिएको उक्त मानवीय सहयोगप्रति व्यापार संघ परिवारले व्यवसायी साहलाई धन्यवाद तथा आभार व्यक्त गरेको छ। संघले विपत्तिको समयमा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले राहत अभियानलाई थप बल पुग्ने जनाएको छ।
रसुवा बाढीपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, व्यवसायी, संघ–संस्था तथा स्थानीय तहबाट सहयोग जुट्ने क्रम जारी छ।