चित्रगुप्त सेवा समितिको निःशुल्क स्वास्थ्य शिविरमा १७० जनाले पाए विशेषज्ञ सेवा
1 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, भदौ १४ गते
जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आयोजनामा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरमा १७० जना सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्। आर्थिक अभाव तथा स्वास्थ्य सेवाको सीमित पहुँचका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, उपचारसम्बन्धी परामर्श तथा औषधि सेवा प्रदान गरिएको थियो। शिविरमा ईसीजी, अल्ट्रासाउन्ड लगायत प्रयोगशाला परीक्षणमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो। साथै रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। शिविरको अध्यक्षता श्री चित्रगुप्त सेवा समिति जनकपुरधामका अध्यक्ष दिलीप कुमार लाल कर्णले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. श्याम नारायण लाभ सहभागी थिए। कार्यक्रममा जनकपुरधाम–१० का वडा अध्यक्ष मिथलेश कर्ण, कार्यक्रम संयोजक मोहन कर्ण, व्यवस्थापक प्रशान्त अरविन्द, रोशन जनकपुरी लगायतको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिलीप कुमार लाल कर्णले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा रूपान्तरण गर्दै आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार स्वास्थ्य तथा मानव सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि प्राध्यापक डा. श्याम नारायण लाभले स्वास्थ्य सेवाको पहुँच विस्तारमा सामाजिक संस्था र स्वास्थ्य संस्थाबीचको सहकार्य महत्वपूर्ण रहेको बताए। समुदायको आवश्यकतालाई केन्द्रमा राखेर आयोजना गरिने यस्ता सेवामूलक कार्यक्रमले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने उल्लेख गर्दै उनले सामाजिक सेवाका यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। शिविरमा जानकी मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. दीपक कुमार साहको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोली सहभागी भएको थियो। टोलीले विभिन्न विभागमार्फत सेवाग्राहीको स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी परामर्श दिएको थियो। स्त्री तथा प्रसूति रोग विभागमा डा. सन्तोष कुमार झा, डा. दीपक कुमार साह, डा. सदिक्षा के.सी. र डा. रोशनी ठाकुरले सेवा दिएका थिए। बाल रोग विभागमा डा. मनोज कौशल, अर्थोपेडिक विभागमा डा. आशिष झा, डा. दिपेश साह र डा. धिरज कुमार यादव, मेडिसिन विभागमा डा. विवेक पञ्जियार, डा. शान्ति सिंह र डा. सोनाक्षी जैसवाल तथा रेडियोलोजी विभागमा डा. वीरेन्द्र कुमार यादवले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा मेडिसिन, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोगलगायतका विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणका क्रममा गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएका एक जना बिरामीलाई थप उपचारका लागि जानकी मेडिकल कलेजले आफ्नै अस्पतालमा लगेर निःशुल्क उपचार गर्ने जनाएको छ।शिविरको समापन अवसरमा सेवा कार्यमा उल्लेखनीय योगदान पुर्याउने चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वयंसेवक युवाहरूलाई प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. श्याम नारायण लाभले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रम संयोजक मोहन कर्ण र व्यवस्थापक प्रशान्त अरविन्दको संयोजनमा सम्पन्न शिविरमा चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।