सिरहाको भगवानपुर निवासी सशस्त्र प्रहरीका असई भारतमा मृत फेला
3 वर्ष पहिले प्रकाशित
आश्विन २१, २०७९
विनोद ठाकुर
राजविराज — सशस्त्र प्रहरी बलमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक ९असई० भारतीय भूमिमा बिहीबार दिउँसो मृत फेला परेका छन् ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोष्ट ९बीओपी० छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् । उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि ३ दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले बताए । उनी असोज २१ गते शुक्रबार कार्यालय हाजिर हुनुपर्ने थियो ।
बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमा तस्बिर सार्वजनिक गरेको थियो । नजिकै रहेको नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बीओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भारतीय प्रशासनलाई जानकारी दिएका थिए ।भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको छ । असई यादवको शव अहिले गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । बिहीबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्याल्य सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए । उनका अनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो । टाउकोमा चोट रहेको बताइए पनि पोस्टमार्टम रिपोर्ट पछि हत्या वा मृत्युबारे खुल्ने डिएसपी सिंहले बताए । सशस्त्र प्रहरी उपरीक्षक खड्काले उनी बिदा गएदेखिनै घटनाबारे जानकारी लिने कार्य भइरहेको बताए ।