आज देशभर रक्षाबन्धन र जनैपुर्णिमा उत्साहका साथ मनाईँदै
4 महीना पहिले प्रकाशित
इन्द्र भुषण यादव
जनकपुरधाम, भदौ ३ गते
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व उत्साहका साथमा आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्गमा उल्लेख गरिएका छन् ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकाे हाे ।
आजै क्वाँटी खाने दिन
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।
यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
तराई- मधेसमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।
रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्यरूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।
के हो रक्षाबन्धन ?
भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर, र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकाे हाे ।
रक्षाबन्धन पर्वलाई मध्यनजर गर्दै सुरक्षा निकाइले ठाउँ ठाउँमा चेकजाँचमा पनि कडाइ गरिएका छन् ।