स्थानीय सञ्चारमाध्यम लाई सशक्त बनाउने दृढता: धनुष टिभीको प्रथम वार्षिकोत्सव सम्पन
1 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, साउन २० गते
जनकपुरधाम भानुचोक स्थित कुल न्युज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित धनुष टिभीले मंगलबार प्रथम वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा स्थानीय सञ्चारकर्मी, जनप्रतिनिधि, कलाकार तथा मिडिया कर्मी हरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सञ्चालिका कंचन कुमारी ठाकुरले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव सहभागी थिए।
कार्यक्रममा हंसपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामज्ञान मण्डल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, मधेस प्रदेश मिडिया काउन्सिलका पूर्व अध्यक्ष कैलास दास, प्रदेश टिभी प्रसारक महासंघ अध्यक्ष बिष्णु कुवर, राष्ट्रिय आवाजका सम्पादक ओम प्रकाश साह,सबैला–१ का वडा अध्यक्ष मिथिला साह, पत्रकार मुकेश दुबे, हरिबंश यादव, विजय ठाकुर, अनितेश यादव, गायिका पूजा जनकवाली, गायक पवन पुर्वैया, अभिनेत्री इशिका भुजेल, लगायतका अतिथिहरू उपस्थित थिए।
कार्यक्रममा पत्रकार अनिल निरालाले स्वागत मन्तव्य राखेका थिए भने रेडियो धनुषका सञ्चालक मुकेश कुमार ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए।
* समस्या मात्र होइन, समाधानको संकेत
कार्यक्रमका वक्ताहरूले स्थानीय सञ्चार माध्यममा विद्यमान समस्या, बजेट असमानता, र व्यावसायिक पत्रकारिताको खाँचोबारे धारणा राखे।
पत्रकार हरिबंश यादवले स्थानीय मुद्दामा सञ्चारमाध्यमले गहिरो चासो दिनुपर्ने बताए। मुकेश दुबेले जनकपुरका मिडिया हाउसहरू गम्भीर आर्थिक संकटमा रहेको भन्दै राज्य बाट प्रत्यक्ष सहयोगको आवश्यकता औंल्याए।
विष्णु कुवरले प्रदेश र स्थानीय तहबाट सञ्चारका लागि छुट्याइएको बजेट केन्द्रका मिडियामै सीमित हुने प्रवृत्तिको आलोचना गरे। उनले सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम र नीति स्पष्टताको माग पनि राखे।
कैलास दासले रेडियो देखि टेलिभिजन सम्मको संघर्षपूर्ण यात्रा तय गरेकोमा सञ्चालक मुकेश ठाकुर लाई बधाई दिँदै विज्ञापन वितरणमा समानुपातिकताको सिद्धान्त पालना गर्नुपर्ने बताए।
पूर्व नगरप्रमुख रामज्ञान मण्डलले “धनुष टिभीले आवाज विहीनको आवाज बनेर कार्य गरेको छ” भन्दै स्थानीय विज्ञापन स्थानीय मिडियामै प्रवाह गर्नुपर्नेमा जोड दिए।
महासंघ अध्यक्ष पुरन गुप्ताले पत्रकारिता क्षेत्रमा गुणस्तरीयता, आन्तरिक समन्वय र एकताको अभाव प्रति चिन्ता व्यक्त गरे।
प्रमुख अतिथि सुरेश यादवले क्वान्टिटी भन्दा क्वालिटी युक्त पत्रकारितामा जोड दिन आग्रह गर्दै सशक्त निर्भिक आवाज विहिनको आवाज बन्न अनुरोध गरे।
उनले पत्रकार अचार संहिताको पालना गर्दै अगाडि बढ्नु पर्ने भन्दै व्यवसायिक पत्रकारितालाई अगाडि बढाउन आवश्यक रहेको बताए। साथै उनले विज्ञापन बजेट प्रभावकारी रूपमा स्थानीय मिडियामै प्रवाह हुनुपर्ने आवश्यकता औंल्याए।
वक्ताहरूका अनुसार यो कार्यक्रम सिर्फ उत्सव मात्र नभई, स्थानीय सञ्चार माध्यमलाई सशक्त बनाउने बहस र प्रतिबद्धताको थालनी पनि हो।